कलाकार

मलाई केहि भन्नू छ |

मैले मिडिया मा झन्डै 24 वर्ष बिताए, त्यति बेला काठमाडौँमा रहेका प्राय सबै कलाकारलाई व्यक्तिगत रुपमा चिन्दथे, उनीहरुले पनि मलाई चिन्थे। (चिन्न पर्ने बाध्यता थियो) ति मध्ये धेरै कम मात्रै अहिले सम्म सम्म सम्पर्कमा छन। यसमा मेरो कुनै गुनासो छैन, बलेको आगो मात्रै ताप्ने कुरा मैले राम्ररी बुझेको छु। थोरै गायकहरु जो संग मेरो अहिले सम्म सम्बन्ध छ तिनी हरु संग कहिले पनि एउटा मिडियाकर्मी र गायक को सम्बन्ध भएन, दाजु भाई जस्तो सम्बन्ध भएरनै होला अहिले सम्म टिकेको।
यिनै दाजु भाई संग धेरै समय बिताउदा धेरै घटना हरु यस्ता छन् जुन मुटुमा गडेको छ। बेला बेला मा सम्झना आई रहन्छ। आज त्यस्तै एउटा घटना सम्झन मन लाग्यो । निमा रुम्बा, नेपाल को पक्का पप स्टार, निमा संग मेरो परिचय प्रनिल तिमल्सिना (GP) ले गराई दिएको हो। मलाई अझ सम्झना छ झन्डै 24 वर्ष पहिला टेकुको बलिवुड भन्ने रेस्टुरा मा भेटेको, जहाँ निमा गीत गाउने गर्थे। त्यति खेर म रेडियो मा स्तापित हुने दौडमा थिए भने निमा को पहिलो अल्बम ‘निमा’ निस्किसकेको थियो।
त्यो दिन देखि खोइ हाम्रो के मिल्यो आज सम्म गर्ब गर्न लायक को सम्बन्ध बन्यो ।

निमा संग धेरै समय संगै बिताउदा एउटा कुरा कहिले पनि देखिन, त्यो हो घमण्ड। निमालाई एकदिन मैले सोधेको थिए ‘ यार तिमि यस्तो हिट छौ, कहिले आफुलाई स्टार जस्तो लाग्दैन ? कहिले नबिर्सिने उत्तर दिएका थिए उनले त्यति खेर ‘ लाग्छ, जब म स्टेज मा आफ्नो गीत प्रस्तुत गरिरहेको हुन्छु, स्टेज बाट ओर्ले पछि त्यो स्टारडम कहाँ जान्छ जान्छ’।

निमाले धेरै पुरस्कार, अवार्ड, सम्मान पाएका छन्। सबै अवार्डहरु राख्नलाई एउटा कोठामा भएको दराजमा पक्कै ठाउँ पुग्दैन। तर निमाले उनको जिन्दगीको सबैभन्दा ठुलो अवार्ड/सम्मान पाउदा भने म सँगै थिए। निमा र म मात्रै थियौ र त्यो अवार्ड दिने मान्छे। निमाले यो कुरा मिडिया मा भनेको छ कि छैन त थाहा छैन तर मलाई भने आज निमाको जन्मदिनको दिन भन्न मनलाग्यो।

सन् २००४ को कुरा हो , निमा को ‘साँझमा पनि’ भन्ने गीत चर्चाको शिखरमा थियो। म अफिसमा थिए (हिट्स एफ एम),दिउसो ३ बजे तिर निमा को फोन आयो, लन्च खायौ भनेर सोध्यो, छैन भने पछि उनले बाहिर निस्कन भन्यो। केहीबेरमै निमा ट्याक्सीमा आइपुगे अनि हामी nanglo bakery cafe तिर लाग्यौ। वानेश्वरको नाग्न्लोमा त्यति खेर वेटर हरु कान सुन्न नसक्ने र बोल्न नसक्ने हरु हुन्थे। भित्र टेबलमा बस्यौ, एकजना वेटर पानी लिएर आए , निमालाइ निकै बेर घोरिएर हेरे , अनि अर्डर लिएर गए। उता गएर अरु वेटर हरु संग कानेखुसी गरे जस्तै इशारामा कुरा गर्न थाले, केहि नबुझे पनि हाम्रै बारेमा कुरा गरेको होकी जस्तो लागि रहेको थियो। एकछिनमा अर्को वेटर भित्र बाट आयो र हामीलाई हेर्यो। एकछिन हेरेपछि हाम्रो टेबल मा आयो। गोजी बाट एउटा कलम र उनको नोटबुक निकाल्यो र निमा को autograph माग्यो, notepad पछि पाखुरामा पनि साइन गर्न भन्यो। एउटा गायक को लागि यो भन्दा ठुलो अवार्ड के हुन सक्छ र ? एउटा कान नसुन्ने व्यक्तिले उससंग autograph माग्दै छ। यो भन्दा ठुलो सम्मान के होला र ? एउटा गुनगुनाउन नसक्ने व्यक्तिले, गायकको हस्ताक्षर आफ्नो पाखुरामा लिदै छ। त्यो वेटर भाई संसार जितेझै गरेर आफ्ना साथीहरु तिर हेर्दै थिए। म चाही छक्क पर्दै निमालाई भने ‘ यो त ठुलो कुरा हो यार ‘ निमा ले पनि हो मा हो मिलाउदै भने ‘ यसको अगाडी त सबै अवार्ड मान सम्मान फिका हुन्छन’ यति भन्दा उनको आँखाहरु रसाई सकेका थिए

Read More